Need Help ?
Call: +977- 010520124

समाचार बिस्तारमा

माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ.), २०७३ सम्बन्धमा जिल्ला शिक्षा कार्यालय धादिङको विज्ञप्ति

माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ.), २०७३ सम्बन्धमा जिल्ला शिक्षा कार्यालय धादिङको विज्ञप्ति

 

नेपालमा वि.सं. १९९० देखि सन्चालन हुँदै अएको  एस. एल. सी. परीक्षा यस वषदेखि माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ.) का नाममा हुँदैछ । साधारण धारतर्फको परीक्षा २०७३ चैत्र ३ गते देखि ११ गतेसम्म र प्राविधिकतर्फको चैत्र १४ सम्म सञ्चालन हुने ब्यहोरा बिदितै छ । धादिङ जिल्लामा परीक्षा सन्चालनका लागि निर्धारण गरिएका २६ परीक्षा केन्द्रहरुमा नियमिततर्फ ६५९८, एक्जेम्टेडतर्फ ११५ र आशिंकतर्फ १८९ गरी जम्मा ६९०२ परीक्षार्थीहरु सम्मिलित हुँदैछन् । यस परीक्षामा २६ जना केन्द्राध्यक्ष, ३४ जना सहायक केन्द्राध्यक्ष, २९२ जना निरीक्षक, १०० जना सहायक कर्मचारी तथा ३९० जना सुरक्षाकर्मी गरी ८४२ जना कर्मचारी प्रत्यक्ष रुपमा खटिनेछन् । जिल्लामा परीक्षालाई ब्यवस्थितरुपमा सन्चालन, ब्यवस्थापन र अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीज्युको अध्यक्षतामा रहेको समन्वय समिति क्रियाशील छ । मन्त्रालय तथा क्षेत्रीयस्तरबाट अनुगमन हुने ब्यवस्था रहेको छ ।

विद्यार्थीको दश वर्षसम्मको उपलब्धिसँग प्रत्यक्षरुपमा गाँसिएको यस परीक्षालाई मर्यादित र ब्यवस्थित रुपमा सञ्चालन गर्न शिक्षा ऐन, नियमावली तथा परीक्षा सम्बन्धी निर्देशिकाहरुमा प्रष्ट रुपमा विभिन्न कानुनी ब्यवस्था गरिएका छन् । प्रश्नपत्रको गोपनीयता भङ्ग गरेमा, परीक्षा केन्द्रमा सम्बन्धित पदाधिकारीको स्विकृतिविना प्रवेश गरेमा वा प्रवेश गर्ने प्रयत्न गरेमा वा परीक्षा केन्द्र नियन्त्रणमा लिई अमर्यादित कार्य गरेमा, अरूको तर्फबाट परीक्षा दिएमा र परीक्षाको मर्यादा भङ्ग हुने कुनै कार्य गरेमा त्यस्ता व्यक्तिलाई कसुरको मात्रा हेरी १ लाखसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्थाका साथै कुनै परीक्षार्थीले कुनै किसिमको अनियमित वा अनुशासनहीन कार्य गरेमा पूरै परीक्षा रद्द गरी अर्काे १ वर्षसम्म सो परीक्षा दिन नपाउने गरी कारवाही गर्न सकिने तथा परीक्षामा अनियमित कार्य गर्ने केन्द्राध्यक्ष वा सहायक केन्द्राध्यक्ष वा निरीक्षक वा अन्य कुनै कर्मचारीलाई तत्कालै हटाई विभागीय कारवाही गर्ने, कुनै एउटा परीक्षार्थीको सट्टा अर्को व्यक्तिले नक्कली परीक्षार्थी भई परीक्षा दिएको पाइएमा त्यस्तो परीक्षार्थीको परीक्षा रद्द गरी कम्तिमा २ वर्षसम्म निष्कासन गर्न सकिने जस्ता प्रावधान रहेको ब्यहोरा समेत अनुरोध गर्दै परीक्षालाई स्वच्छ, मर्यादित एवम् ब्यवस्थित रुपमा सञ्चालन गर्ने कार्यमा सहयोग पुरयाउन सम्पुर्ण शिक्षक, विद्यार्थी, अभिभावक, बि.ब्य. स. पदाधिकारी, राजनीतिक दल, पेशागत संघ संगठन, पत्रकार, नागरिक समाज लगायत समस्त धादिङवासीहरुमा स्मरणार्थ अनुरोध छ ।

साथै एस.इ.इ. परीक्षामा निरीक्षकका रुपमा काम गर्न सम्भव भएसम्म केन्द्र रहेको विद्यालयका प्राथमिक शिक्षकलाई मात्र खटाउने र परीक्षा अवधिभर केन्द्र रहेका विद्यालयबाहेक अन्य विद्यालयमा पूर्ववत पठनपाठन गर्ने गराउने ब्यवस्था मिलाउन समेत विद्यालयहरुलाई सूचित गरिन्छ ।

जिल्ला शिक्षा कार्यालय धादिङ